मत्ती
1
अब्राहामका पुत्र, दाऊदका पुत्र, येशू ख्रीष्टको वंशावली:
अब्राहाम इसहाकका पिता थिए। इसहाक याकूबका पिता थिए, याकूब यहूदा र तिनका दाजुभाइहरूका पिता
,यहूदा फारेस र जाहेरका पिता थिए। तिनीहरूकी आमा तामार थिइन्। फारेस हेस्रोनका पिता, हेस्रोन आरामका पिता,
आराम अम्मीनादाबका पिता, अम्मीनादाब नहशोनका पिता, नहशोन सल्मोनका पिता,
सल्मोन बोअजका पिता थिए। तिनकी आमा राहाब थिइन्। बोअज ओबेदका पिता थिए। तिनकी आमा रूथ थिइन्। ओबेद यिशैका पिता,
यिशै दाऊद राजाका पिता थिए। दाऊद सोलोमनका पिता थिए। तिनकी आमा उरियाहकी पत्नी थिइन्।
सोलोमन रहबामका पिता, रहबाम अबियाका पिता, अबिया आसाका पिता,
आसा यहोशापातका पिता, यहोशापात यहोरामका पिता, यहोराम उज्जियाहका पिता,
उज्जियाह योतामका पिता, योताम आहाजका पिता, आहाज हिजकियाका पिता,
हिजकिया मनश्शेका पिता, मनश्शे अमोनका पिता, अमोन योशियाहका पिता,
योशियाह यकोनियास र तिनका भाइहरूका पिता थिए। तिनीहरू बेबिलोनमा यहूदीहरूलाई बन्दी बनाएर लगिने समयअघि जन्मेका थिए।
बेबिलोनमा बन्दी बनाएर लगिएपछि: यकोनियास शालतिएलका पिता थिए, शालतिएल यरुबाबेलका पिता,
यरुबाबेल अबिउदका पिता, अबिउद एल्याकीमका पिता, एल्याकीम आजोरका पिता,
आजोर सादोकका पिता, सादोक आखिमका पिता, आखिम एलिउदका पिता,
एलिउद एलाजारका पिता, एलाजार मत्तानका पिता, मत्तान याकूबका पिता थिए।
याकूब तिनै योसेफका पिता थिए, जसकी पत्नी मरियम थिइन्। यिनै मरियमबाट येशूको जन्म भयो, जो ख्रीष्ट कहलाइन्छन्।
यसरी अब्राहामदेखि दाऊदसम्म चौध पुस्ता भए, र दाऊदको समयदेखि बेबिलोनमा निष्कासन हुने समयसम्म चौध पुस्ता, र बेबिलोनमा निष्कासन भएको समयदेखि ख्रीष्टको समयसम्म चौध पुस्ता भए।
येशू ख्रीष्टको जन्म यस प्रकारले भयो: उहाँकी आमा मरियमको मगनी योसेफसँग भएको थियो, तर उनीहरूको विवाह हुन अघि मरियम पवित्र आत्माद्वारा गर्भवती भएकी थाहा भयो।
तर तिनका पति योसेफ धार्मिक मानिस भएका हुनाले, तिनलाई शर्ममा पार्ने इच्छा नगरी तिनलाई गुप्तमै त्याग्ने इच्छा गरे।
तर जब उनले यी कुरा विचार गर्दैथिए, सपनामा परमप्रभुका दूत देखा परे, र उनलाई यसो भने, “योसेफ, दाऊदका छोरा, तिम्री पत्नी मरियमलाई स्वीकार गर्न नडराऊ, किनभने जो तिनको गर्भमा हुनुहुन्छ, उहाँ पवित्र आत्माबाट हुनुहुन्छ।
तिनले एउटा पुत्र जन्माउनेछिन्, र तिमीले उहाँको नाउँ येशू राख्नेछौ, किनभने उहाँले आफ्ना मानिसहरूलाई तिनीहरूका पापबाट बचाउनुहुनेछ।”
अगमवक्ताद्वारा परमप्रभुले बोल्नुभएको वचन पूरा हुनलाई नै यी सबै भएका हुन्:
“हेर, एउटा कन्याले गर्भधारण गर्नेछिन्, र त्यसले एउटा पुत्र जन्माउनेछिन्, र उहाँको नाउँ इम्मानुएल राखिनेछ,” जसको अर्थ हो, “परमेश्वर हामीहरूसँग।”
योसेफ निद्राबाट ब्यूँझे, र परमप्रभुका दूतले उनलाई भनेबमोजिम उनले मरियमलाई आफ्नी पत्नीको रूपमा स्वीकार गरे।मरियमले पुत्र नजन्माउञ्जेल योसेफले तिनीसँग सहवास गरेनन्। योसेफले उहाँको नाउँ येशू राखे।
हेरोद राजाको समयमा यहूदियाको बेथलेहेममा जब येशूको जन्म भयो, पूर्वका ज्योतिषीहरू यरूशलेममा आइपुगे र तिनीहरूले भने
,“यहूदीहरूका राजा भई जन्मने कहाँ हुनुहुन्छ? किनभने हामीले उहाँको तारा पूर्वमा देख्यौं र उहाँलाई दण्डवत् गर्न आएका छौं।”
जब हेरोद राजाले यो सुने, तिनी बेचैन भए, र तिनीसँग सारा यरूशलेम पनि बेचैन भयो।
अनि तिनले सबै मुख्य पूजाहारीहरू र जनताका शास्त्रीहरूलाई भेला गरे, र “ख्रीष्टको जन्म कहाँ हुने हो?” भनी सोधपूछ गरे।
तिनीहरूले तिनलाई भने, “यहूदियाको बेथलेहेममा। किनभने अगमवक्ताले लेखेका छन्:
‘ए बेथलेहेम, यहूदा मुलुकको गाउँ, तँ कुनै किसिमले यहूदाका शासकहरूका बीचमा कुनैभन्दा पनि तुच्छ छैनस्, किनकि तँबाट एउटा शासक निस्किआउनेछन्, जसले मेरा मानिस, इस्राएलको हेरचाह गर्नेछन्’।”
तब हेरोदले ती ज्योतिषीहरूलाई गुप्तमा बोलाएर तारा कुन समय देखा परेको हो, सो तिनीहरूबाट पत्ता लगाए।
तिनले तिनीहरूलाई यसो भनेर बेथलेहेममा पठाए, “जाओ, र ठीकसँग त्यस बालकको खोजी गर। तिनलाई भेट्टाएपछि मलाई खबर गर, र म पनि तिनलाई दण्डवत् गर्नेछु।”
तब राजाको कुरा सुनेर तिनीहरू आफ्ना बाटो लागे। जुन तारा तिनीहरूले पूर्वमा देखेथे, त्यो तारा तिनीहरूका अगि-अगि गयो, र बालक भएको ठाउँमा पुगेपछि त्यो तारा त्यहीँ अड़ियो।
जब तिनीहरूले त्यो तारा देखे, तब तिनीहरू अति आनन्दित भएर रमाए।
अनि घरभित्र पसेर तिनीहरूले बालकलाई उहाँकी आमा मरियमको साथमा देखे, र घोप्टो परेर उहाँलाई दण्डवत् गरे। तब आफ्ना कन्तुर खोलेर उहाँलाई सुन, सुगन्धित धूप र मूर्रका भेटी चढ़ाए।
अनि हेरोदकहाँ फर्की नजानू भन्ने सपनामा चेताउनी पाएर तिनीहरू अर्कै बाटो भएर आफ्नो देशमा फर्के।
तिनीहरू गएपछि, परमप्रभुका एउटा दूत सपनामा योसेफकहाँ देखा परे र तिनले यसो भने, “उठ, साना बालक र उहाँकी आमालाई साथ लिई मिश्रदेशमा भागिहाल, र तिमीलाई मैले नभनेसम्म त्यहीँ बस। किनकि, हेरोदले बालकलाई मार्न उहाँको खोजी गर्न लागेको छ।”
अनि तिनी उठेर साना बालक र उहाँकी आमालाई साथमा लिई मिश्रदेशमा राती नै गइहाले,
र हेरोदको मृत्यु नहोउञ्जेल त्यहीँ बसे। अगमवक्ताद्वारा परमप्रभुले भन्नुभएको वचन यसरी पूरा भयो, “मैले आफ्ना पुत्रलाई मिश्रदेशबाट बोलाएँ।”
तब ज्योतिषीहरूले तिनलाई छकाएको कुरा हेरोदले थाहा पाए, र तिनी रीसले चूर भए। अनि ज्योतिषीहरूबाट थाहा भएको समयअनुसार बेथलेहेम र त्यस इलाका भित्रका दुई वर्ष र त्यसदेखि मुनिका सबै बालकहरूलाई मार्न लगाए।
तब यर्मिया अगमवक्ताले भनेको वचन पूरा भयो,
“रामामा एउटा शब्द सुनियो, डाँको छोडी-छोडी रोएको र विलापको ठूलो आवाज, राहेल आफ्ना बालकहरूका लागि रोइरहेकी, सान्त्वना तिनले इन्कार गरिन्, किनकि तिनका बालकहरू अब रहेनन्।”
तब हेरोद मरेपछि, परमप्रभुका एउटा स्वर्गदूत सपनामा योसेफकहाँ मिश्रमा देखा परे, र यसो भने,
“उठ, बालक र उहाँकी आमालाई साथमा लिई इस्राएल देशमा जाऊ, किनभने बालकको प्राण लिन खोज्नेहरू मरिसकेका छन्।”
तिनी उठेर बालक र उहाँकी आमालाई साथमा लिई इस्राएल देशमा फर्के।
तर यहूदियामा आफ्ना बुबा हेरोदको ठाउँमा अर्खिलाउसले राज्य गरिरहेका छन् भन्ने सुनेर तिनी त्यता जान डराए, र सपनामा चेताउनी पाएर तिनी गालीलको प्रदेशमा गए।
तिनी गएर नासरत भन्ने नगरमा बसे। यसरी अगमवक्ताहरूद्वारा बोलिएको वचन पूरा भयो: “उहाँलाई नासरी भनिनेछ।”
त्यही समय बप्तिस्मा-दिने यूहन्ना यहूदियाको उजाड-स्थानमा आए, र यसो भन्दै प्रचार गर्न लागे,
“पश्चात्ताप गर, किनभने स्वर्गको राज्य नजिक आएको छ।”
किनभने यी तिनै हुन्, जसको विषयमा यशैया अगमवक्ताद्वारा यसो भनिएको थियो: “उजाड-स्थानमा एक जना कराउनेको आवाज, ‘परमप्रभुको मार्ग तयार पार, उहाँका पथ सोझा बनाओ’।”
यूहन्नाले ऊँटका रौँको वस्त्र लाउँथे, र कम्मरमा छालाको पटुका बाँध्थे। तिनको खानेकुरा सलह र वन-मह थियो।
यरूशलेम र सबै यहूदिया, र यर्दन वरिपरिका इलाकाका सबै मानिसहरू तिनीकहाँ गए,
र आफ्ना पाप स्वीकार गर्दै यर्दन नदीमा तिनीबाट बप्तिस्मा लिन लागे।
तर फरिसीहरू र सदुकीहरूमध्ये धेरै जनालाई बप्तिस्मा लिन आइरहेका देखेर तिनले उनीहरूलाई भने, “सर्पका बच्चा हो, आउन लागेको क्रोधबाट भाग्न कसले तिमीहरूलाई चेताउनी दियो?
यसकारण पश्चात्ताप सुहाउँदो फल फलाओ।
अब्राहाम नै हाम्रा पिता हुनुहुन्छ भनी आपसमा भन्ने नगर। किनभने म तिमीहरूलाई भन्दछु, परमेश्वरले यी ढुङ्गाहरूबाट अब्राहामको लागि सन्तान उत्पन्न गर्न सक्नुहुन्छ।
अहिले नै रूखको फेदमा बन्चरो परिसकेको छ। यसकारण असल फल नफलाउने हरेक रूख काटी ढालिन्छ, र आगोमा फालिन्छ।
“मचाहिँ त तिमीहरूलाई पश्चात्तापको लागि पानीले बप्तिस्मा दिन्छु, तर मपछि आउनुहुने मभन्दा अझ शक्तिशाली हुनुहुन्छ, जसका जुत्ता बोक्ने योग्यको म छैनँ। उहाँले तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्तिस्मा दिनुहुनेछ।
उहाँको निफन्ने नाङ्लो उहाँकै हातमा छ, र उहाँले आफ्ना खलालाई पूरै सफा पार्नुहुनेछ, र आफ्नो गहूँ धनसारमा जम्मा गर्नुहुनेछ, तर भुसजति चाहिँ ननिभ्ने आगोमा जलाउनुहुनेछ।”
तब येशू गालीलबाट यूहन्नाकहाँ तिनीद्वारा बप्तिस्मा लिन यर्दनमा आउनुभयो।
तर यूहन्नाले यसो भनेर उहाँलाई रोक्न खोजे, “बरु मलाई पो तपाईंबाट बप्तिस्मा लिनु आवश्यक छ, र के तपाईं मकहाँ आउनुहुने?”
तर येशूले तिनलाई भन्नुभयो, “अहिलेलाई यसै हुन देऊ। किनभने यसरी नै हामीहरूले सबै धार्मिकता पूरा गर्नुपर्दछ।” तब यूहन्ना राजी भए।
अनि येशू बप्तिस्मा लिएर तुरुन्तै पानीबाट माथि निस्कनुभयो, अनि स्वर्ग उघ्रियो, र उहाँले परमेश्वरका आत्मालाई ढुकुरझैँ ओर्लिरहनुभएको र आफूमाथि आइरहनुभएको देख्नुभयो।
तब स्वर्गबाट यो वाणी आयो, “यिनी मेरा प्रिय पुत्र हुन्, यिनीसँग म अति प्रसन्न छु।”
तब दियाबलसद्वारा परीक्षा गरिनलाई पवित्र आत्माद्वारा येशू उजाड-स्थानमा लगिनुभयो।
उहाँ चालीस दिन र चालीस रातसम्म उपवास बसिसकेपछि भोकाउनुभयो।
तब परीक्षा गर्नेले उहाँकहाँ आएर भन्यो, “तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ भने यी ढुङ्गाहरूलाई रोटी होऊन् भनी आज्ञा दिनुहोस्।”
तर येशूले जवाफ दिनुभयो, “लेखिएको छ, ‘मानिस रोटीले मात्र होइन, तर परमेश्वरको मुखबाट निस्केको हरेक वचनले जीवित रहँदछ’।”
तब दियाबलसले उहाँलाई पवित्र नगरमा लगेर मन्दिरको शिरमा खड़ा गरायो,
र उहाँलाई भन्यो, “तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ भने, यहाँबाट तल हामफाल्नुहोस्, किनभने यस्तो लेखिएको छ, ‘उहाँले आफ्ना दूतहरूको जिम्मामा तिमीलाई दिनुहुनेछ र तिनीहरूले तिमीलाई आफ्ना हात-हातै थाम्नेछन्, नत्रता तिम्रो खुट्टा ढुङ्गामा ठोकिनेछ’।”
येशूले त्यसलाई भन्नुभयो, “लेखिएको छ, ‘तैंले परमप्रभु आफ्ना परमेश्वरको परीक्षा नगर्नू’।”
फेरि दियाबलसले उहाँलाई एउटा अल्गो पर्वतमा लगेर संसारका सबै राज्य र तिनको वैभव उहाँलाई देखायो,
र उहाँलाई भन्यो, “तपाईंले घोप्टेर मलाई दण्डवत् गर्नुभयो भने, यी सबै थोक म तपाईंलाई दिनेछु।”
तब येशूले त्यसलाई भन्नुभयो, “शैतान, तँ दूर होइजा! किनभने लेखिएको छ, ‘तैंले परमप्रभु आफ्ना परमेश्वरलाई दण्डवत् गर्नू, र उहाँको मात्र सेवा गर्नू’।”
तब दियाबलस उहाँलाई छोड़ेर गयो र स्वर्गदूतहरूले आएर उहाँको सेवा-टहल गरे।
यूहन्ना थुनामा परे भन्ने सुनेर येशू गालीलतिर लाग्नुभयो,
र नासरत छोड़ेर कफर्नहुममा गई त्यहाँ वास गर्न लाग्नुभयो। यो सहर जबूलून र नप्तालीका क्षेत्रमा, समुद्रको किनारमा पर्छ।
यशैया अगमवक्ताले भनेको वचन यसरी पूरा भयो :
“जबूलूनको मुलुक र नप्तालीको मुलुक, यर्दनपार, समुद्रतिर, अन्यजातिहरूको गालील,
अन्धकारमा बस्ने मानिसहरूले एउटा ठूलो ज्योति देखेका छन्। मृत्युका छायाको देशमा बस्नेहरूमाथि एउटा ज्योति उदाएको छ।”
त्यस बेलादेखि प्रचार गर्दै येशूले भन्न लाग्नुभयो, “पश्चात्ताप गर, किनभने स्वर्गको राज्य नजिक आइपुगेको छ।”
गालील-समुद्रको किनारमा हिँड्नुहुँदा उहाँले पत्रुस भन्ने सिमोन र तिनका भाइ अन्द्रियास, दुवै भाइलाई समुद्रमा जाल हानिरहेका देख्नुभयो। तिनीहरू मछुवा थिए।
उहाँले तिनीहरूलाई भन्नुभयो, “मेरो पछि लाग, र म तिमीहरूलाई मानिसहरूका मछुवा तुल्याउनेछु।”
तब उत्तिखेरै जालहरू छोड़ेर तिनीहरू उहाँको पछि लागे।
त्यहाँबाट जाँदाजाँदै उहाँले अर्का दुई भाइ, जब्दियाका छोराहरू याकूब र तिनका भाइ यूहन्नालाई तिनीहरूका बुबा जब्दियासँग डुङ्गामा आफ्ना जाल तुनिरहेका देख्नुभयो, र उहाँले तिनीहरूलाई बोलाउनुभयो।
तब उत्तिखेरै डुङ्गा र तिनीहरूका बाबुलाई छोड़ेर तिनीहरू उहाँको पछि लागे।
अनि येशू तिनीहरूका सभाघरहरूमा सिकाउँदै, राज्यको सुसमाचार प्रचार गर्दै, र मानिसहरूमा भएका हरेक किसिमका रोग र शारीरिक दुर्बलता निको पार्दै सारा गालीलभरि घुम्नुभयो।
उहाँको कीर्ति सिरियाभरि फिँजियो, र बिरामीहरू, अर्थात् विभिन्न प्रकारका रोग र पीडाले सताइएका, भूत लागेका, र छारेरोग लागेका, र पक्षाघात भएकाहरू सबैलाई मानिसहरूले उहाँकहाँ ल्याए। उहाँले तिनीहरूलाई निको पार्नुभयो।
अनि गालील, डेकापोलिस, यरूशलेम, यहूदिया र यर्दन पारिदेखिका ठूला भीड़हरू उहाँको पछि लागे।
भीड़लाई देखेर उहाँ डाँड़ामा उक्लनुभयो, र उहाँ बस्नुभएपछि चेलाहरू उहाँकहाँ आए।
उहाँले मुख खोल्नुभयो र तिनीहरूलाई शिक्षा दिन लाग्नुभयो:
“धन्य आत्मामा दीन हुनेहरू, किनभने स्वर्गको राज्य तिनीहरूको हो।
धन्य शोक गर्नेहरू, किनभने तिनीहरूले सान्त्वना पाउनेछन्।
धन्य नम्रहरू, किनभने तिनीहरूले पृथ्वीको अधिकार पाउनेछन्।
धन्य धार्मिकताको निम्ति भोकाउने र तिर्खाउनेहरू, किनभने तिनीहरू तृप्त हुनेछन्।
धन्य दयावन्तहरू, किनभने तिनीहरूले दया पाउनेछन्।
धन्य शुद्ध हृदय हुनेहरू, किनभने तिनीहरूले परमेश्वरलाई देख्नेछन्।
धन्य मेलमिलाप गराउनेहरू, किनभने तिनीहरू परमेश्वरका छोराहरू कहलाइनेछन्।
धन्य धार्मिकताको निम्ति सताइनेहरू, किनभने स्वर्गको राज्य तिनीहरूको हो।
“धन्य हौ तिमीहरू, जब मानिसहरूले मेरो खातिर तिमीहरूको निन्दा गर्नेछन् र सताउनेछन्, र झूटा बोलेर तिमीहरूका विरुद्धमा सब किसिमका खराब कुरा भन्नेछन्।
तब रमाओ, र अत्यन्त खुशी होओ, किनभने स्वर्गमा तिमीहरूको इनाम ठूलो हुनेछ। किनभने यसरी नै तिमीहरूभन्दा अघिका अगमवक्ताहरूलाई तिनीहरूले सताएका थिए।
“तिमीहरू पृथ्वीका नून हौ, तर नूनको स्वाद गयो भने त्यो केले फेरि नुनिलो पारिने र? त्यो त बाहिर फालिन र मानिसका खुट्टाले कुल्चनबाहेक अरू केही कामको हुँदैन।
“तिमीहरू संसारका ज्योति हौ। डाँड़ामा बसालिएको सहर लुक्न सक्दैन।
मानिसहरूले बत्ती बालेर पाथीले त छोप्दैनन्, तर सामदानमा राख्दछन्, र घरमा हुने सबैको निम्ति त्यसले उज्यालो दिन्छ।
यसरी नै तिमीहरूको ज्योति मानिसहरूका सामुन्ने चम्कोस्, र तिनीहरूले तिमीहरूका सुकर्म देखून्, र स्वर्गमा हुनुहुने तिमीहरूका पिताको महिमा गरून्।
“व्यवस्था अथवा अगमवक्ताहरूलाई रद्द गर्न म आएको भन्ने नसम्झ। म ती रद्द गर्न होइन, तर पूरा गर्न आएँ।
किनभने साँच्चै म तिमीहरूलाई भन्दछु, जबसम्म स्वर्ग र पृथ्वी टलेर जाँदैन तबसम्म सबै कुरा पूर्ण नभई कुनै किसिमले व्यवस्थाबाट एउटा मात्रा वा एउटा बिन्दु टल्नेछैन।
यसैकारण जसले यी आज्ञाहरूमध्ये सबैभन्दा सानोलाई उल्लङ्घन गर्ला, र मानिसहरूलाई त्यसै गर्न सिकाउला, स्वर्गको राज्यमा त्यो सबैभन्दा सानो कहलाइनेछ। तर जसले ती आज्ञाहरू पालन गर्ला र सिकाउला, स्वर्गको राज्यमा त्यो ठूलो कहलाइनेछ।
किनभने म तिमीहरूलाई भन्दछु, तिमीहरूको धार्मिकता शास्त्री र फरिसीहरूको भन्दा बढ़ी भएन भने तिमीहरू कुनै रीतिले स्वर्गको राज्यमा प्रवेश गर्नेछैनौ।
“तिमीहरूले सुनेका छौ, प्राचीन समयका मानिसहरूलाई यसो भनिएको थियो, ‘तैंले हत्या नगर्नू’, र जसले हत्या गर्छ त्यो दण्डको योग्य हुनेछ।’
तर म तिमीहरूलाई भन्दछु, जो कोही आफ्नो भाइसँग क्रोध गर्दछ त्यो दण्डको योग्य हुनेछ, र जसले आफ्नो भाइको अपमान गर्दछ, त्यो महासभामा जवाफदेही हुनेछ। तर जसले आफ्नो भाइलाई ‘तँ मूर्ख’ भन्छ, त्यो नरकको आगोमा पर्ने जोखिममा हुनेछ।
“यसकारण तिमीले वेदीमा आफ्नो भेटी चढ़ाउँदा तिम्रो भाइको हृदयमा तिम्रो विरुद्धमा केही छ भन्ने तिमीलाई याद भयो भने,
तिम्रो भेटी त्यही वेदीको सामु छोड, र जाऊ। पहिले आफ्नो भाइसँग मिलाप गर, र त्यसपछि आएर आफ्नो भेटी चढ़ाऊ।
“तिम्रो वादीसँग अदालतमा जाँदा बाटोमै मिलाप गरिहाल, नत्रता वादीले तिमीलाई न्यायाधीशको हातमा सुम्पिदेला र न्यायाधीशले अफिसरको हातमा सुम्पिदेलान्, र तिमी झ्यालखानमा पर्नेछौ।
साँच्चै, म तिमीहरूलाई भन्दछु, तिमीले एक-एक पैसा चुक्ता नगरुञ्जेल तिमी त्यहाँबाट उम्कनेछैनौ।
“तिमीहरूले यसो भनेको सुनेका छौ, ‘तैंले व्यभिचार नगर्।’
तर म तिमीहरूलाई भन्दछु, जसले कोही स्त्रीलाई कामवासनाको इच्छाले हेर्दछ, त्यसले अघिबाटै आफ्नो हृदयमा त्यससँग व्यभिचार गरिसकेको हुन्छ।
यदि तिम्रो दाहिने आँखाले तिमीलाई पाप गर्न लाउँछ भने त्यसलाई निकालेर फालिदेऊ, किनभने तिम्रो सम्पूर्ण शरीर नरकमा फालिनुभन्दा बरु तिम्रा अङ्गहरूमध्ये एउटा गुमाउनु तिम्रो निम्ति हितकारी हुन्छ।
तिम्रो दाहिने हातले तिमीलाई पाप गर्न लाउँछ भने त्यसलाई काटेर फालिदेऊ। किनभने तिम्रो सम्पूर्ण शरीर नरकमा जानुभन्दा बरु तिम्रा अङ्गहरूमध्ये एउटा गुमाउनु तिम्रो निम्ति हितकारी हुन्छ।
“यसो पनि भनिएको छ, कि ‘जसले आफ्नी पत्नीलाई त्याग गर्छ, त्यसले तिनलाई त्यागपत्र लेखिदेओस्।’
तर म तिमीहरूलाई भन्दछु, जसले आफ्नी पत्नीलाई व्यभिचारको कारणबाहेक अरू कारणले त्याग गर्ला, त्यसले उसलाई व्यभिचारिणी तुल्याउँछ, र जसले त्याग गरिएकी स्त्रीसँग विवाह गर्ला, त्यसले व्यभिचार गर्नेछ।
“फेरि तिमीहरूले सुनेका छौ, कि प्राचीन समयका मानिसहरूलाई भनिएको थियो, ‘तैंले झूटो शपथ नखा, तर परमप्रभुको निम्ति गरिएको शपथ तैंले पूरा गर्।’
तर म तिमीहरूलाई भन्दछु, शपथ खाँदै नखाओ। स्वर्गको नाउँमा शपथ नखाओ, किनकि त्यो परमेश्वरको सिंहासन हो,
न त पृथ्वीको, किनकि त्यो उहाँको पाउदान हो, न त यरूशलेमको, किनकि त्यो महाराजाको सहर हो।
आफ्नो शिरको शपथ नखाऊ, किनकि तिमीले एउटा केशलाई सेतो कि कालो बनाउन सक्दैनौ।
तिमीहरूले भनेको वचनचाहिँ ‘हो’ भने ‘हो,’ ‘होइन’ भने ‘होइन’ मात्र होस्। यीभन्दा बढ़ीचाहिँ दुष्टताबाट आउँदछ।
“तिमीहरूले सुनेका छौ, यसो भनिएको थियो, ‘आँखाको बदला आँखा, र दाँतको बदला दाँत।’
तर म तिमीहरूलाई भन्दछु, दुष्टको मुकाबिला नगर। जसले तिम्रो दाहिने गाला चड्काउला, त्यसलाई अर्को गाला पनि थापिदेऊ।
यदि कोही मानिसले मुद्दा चलाएर तिम्रो दौरा लिने दाबी गर्छ भने, त्यसलाई तिम्रो खास्टो पनि दिइहाल।
यदि कसैले तिमीलाई एक किलोमिटर जान बाध्य गर्छ भने, ऊसँग दुई किलोमिटर गइदेऊ।
तिमीसँग माग्नेलाई देऊ, र तिमीसँग कर्जा लिन चाहनेलाई इन्कार नगर।
“तिमीहरूले यसो भनेको सुनेका छौ, ‘तिम्रो छिमेकीलाई प्रेम गर, र तिम्रो शत्रुलाई घृणा गर।’
तर म तिमीहरूलाई भन्दछु, आफ्ना शत्रुहरूलाई प्रेम गर, र तिमीहरूलाई सताउनेहरूका निम्ति प्रार्थना गर,
र तिमीहरू स्वर्गमा हुनुहुने आफ्ना पिताका छोराहरू हुनेछौ। उहाँले दुष्ट र सज्जन दुवैलाई सूर्यको ताप दिनुहुन्छ, र धर्मी र पापी दुवैलाई वृष्टि दिनुहुन्छ।
किनभने यदि तिमीहरूसँग प्रेम गर्नेहरूलाई मात्र प्रेम गर्दछौ भने तिमीहरूलाई के इनाम छ? के महसूल उठाउनेहरूले पनि त्यसै गर्दैनन् र?
तिमीहरूले आफ्ना दाजुभाइहरूलाई मात्र अभिवादन गर्छौ भने अरूहरूले भन्दा बढ़ी के गर्यौ र? के अन्यजातिहरूले पनि त्यसै गर्दैनन् र?
यसकारण जस्तो तिमीहरूका स्वर्गमा हुनुहुने पिता सिद्ध हुनुहुन्छ, तिमीहरू पनि त्यस्तै सिद्ध हुनुपर्दछ।”
“होशियार बस, तिमीहरू मानिसहरूलाई देखाउनलाई धर्मकार्य नगर। नत्रता स्वर्गमा हुनुहुने तिमीहरूका पिताबाट तिमीहरूले केही इनाम पाउनेछैनौ।
“यसकारण जब तिमीहरू दान दिन्छौ, तब आफ्ना सामु तुरही नबजाओ, जस्तो ढोंगीहरूले सभाघरहरू र सड़कहरूमा मानिसहरूबाट प्रशंसा पाउनलाई गर्दछन्। साँच्चै, म तिमीहरूलाई भन्दछु, तिनीहरूले आफ्ना इनाम पाइसकेका छन्।
तर जब तिमी दान दिँदछौ, तिम्रो दाहिने हातले के गरिरहेछ सो देब्रे हातले थाहा नपाओस्।
तिम्रो दान गुप्तमा होस्, र गुप्तमा देख्नुहुने तिम्रा पिताले तिमीलाई इनाम दिनुहुनेछ।
“जब तिमी प्रार्थना गर्दछौ तब ढोंगीहरूजस्ता नहोओ, किनकि तिनीहरू सभाघरहरूमा र सड़कहरूका कुनामा मानिसहरूले देखून् भनी खड़ा भएर प्रार्थना गर्न मन गर्दछन्। साँच्चै, म तिमीहरूलाई भन्दछु, तिनीहरूले आफ्नो इनाम पाइसकेका छन्।
तर तिमी जब प्रार्थना गर्दछौ, आफ्नो भित्री कोठामा पस, र ढोका थुनेर गुप्तमा हुनुहुने तिम्रा पितालाई प्रार्थना गर, र गुप्तमा देख्नुहुने तिम्रा पिताले तिमीलाई इनाम दिनुहुनेछ।
र प्रार्थना गर्दा अन्यजातिहरूजस्ता व्यर्थै नबरबराओ। किनभने धेरै शब्दमा बोल्दा तिनीहरूको सुनाइ हुन्छ भन्ने तिनीहरू विचार गर्दछन्।
यसकारण तिनीहरूजस्ता नहोओ। किनभने तिमीहरूले उहाँसँग माग्नभन्दा अघिबाटै तिमीहरूलाई कुन-कुन कुराको खाँचो छ, सो तिमीहरूका पिता जान्नुहुन्छ।
“तर तिमीहरूचाहिँ यस किसिमले प्रार्थना गर: ‘हे हाम्रा पिता, जो स्वर्गमा हुनुहुन्छ, तपाईंको नाउँ पवित्र होस्।
तपाईंको राज्य आओस्। तपाईंको इच्छा स्वर्गमा जस्तो छ, त्यस्तै यस पृथ्वीमा पूरा होस्।
हामीलाई आज हाम्रो दैनिक भोजन दिनुहोस्।
हाम्रा अपराध क्षमा गर्नुहोस्, जसरी हामीले आफ्ना अपराधीहरूलाई क्षमा गरेका छौं।
हामीलाई परीक्षामा पर्न नदिनुहोस्, तर दुष्टबाट छुटाउनुहोस् किनभने राज्य, पराक्रम र महिमा सदासर्वदा तपाईंकै हुन्, आमेन।’
किनकि तिमीहरूले मानिसहरूका अपराध क्षमा गर्यौ भने तिमीहरूका स्वर्गमा हुनुहुने पिताले पनि तिमीहरूलाई क्षमा गर्नुहुनेछ।
तर तिमीहरूले मानिसहरूका अपराध क्षमा गरेनौ भने तिमीहरूका पिताले तिमीहरूका अपराध क्षमा गर्नुहुनेछैन।
“जब तिमीहरू उपवास बस्तछौ, तब ढोंगीहरूजस्ता उदासी चेहरा नदेखाओ। किनकि मानिसहरूलाई उपवास बसेका देखाउनलाई तिनीहरू आफ्ना मोहड़ा अँध्यारा पार्छन्। साँच्चै, म तिमीहरूलाई भन्दछु, तिनीहरूले आफ्ना इनाम पाइसकेका छन्।
तर तिमीचाहिँ उपवास बस्दा आफ्नो शिरमा तेल लगाऊ, र आफ्नो मुख धोऊ।
र तिम्रो उपवास मानिसहरूले होइन, तर गुप्तमा हुनुहुने तिम्रा पिताले देखून्, र गुप्तमा देख्नुहुने तिम्रा पिताले तिमीलाई इनाम दिनुहुनेछ।
“आफ्नो निम्ति पृथ्वीमा धन-सम्पत्ति नथुपार, जहाँ कीरा र खियाले ती नष्ट पार्छन् र जहाँ चोरहरूले घर फोरेर ती चोर्छन्।
तर आफ्नो निम्ति स्वर्गमा धन-सम्पत्ति थुपार, जहाँ कीराले वा खियाले नष्ट पार्दैन, र चोरले पनि चोर्दैन।
किनकि जहाँ तिम्रो धन हुन्छ, त्यहीँ तिम्रो मन पनि हुन्छ।
“आँखा शरीरको बत्ती हो। यसकारण यदि तिम्रा आँखा स्वस्थ छन् भने, तिम्रो सारा शरीर उज्यालो हुनेछ।
तर तिम्रा आँखा खराब छन् भने, तिम्रो सारा शरीर अँध्यारो हुनेछ। यसकारण तिमीभित्र भएको उज्यालोचाहिँ अँध्यारो भयो भने, त्यो अँध्यारो कस्तो घोर हुन्छ!
“कसैले दुई मालिकको सेवा गर्न सक्दैन। किनभने त्यसले एउटालाई घृणा गर्नेछ र अर्कालाई प्रेम गर्नेछ। अथवा त्यसले एउटाप्रति भक्ति राख्नेछ, र अर्कालाई त्यसले तुच्छ ठान्नेछ। तिमीहरूले परमेश्वर र धनको सेवा गर्न सक्दैनौ।
“यसैकारण म तिमीहरूलाई भन्दछु, ‘के खाउँला, के पिउँला’ भनी आफ्नो प्राणको निम्ति र ‘के लगाउँला’ भनी आफ्नो शरीरको निम्ति फिक्री नगर।’ के जीवन खानेकुराभन्दा र शरीर लुगाफाटाभन्दा उत्तम होइन?
आकाशका चराचुरुङ्गीलाई हेर। तिनीहरूले न त बीउ छर्छन्, न अन्न कटनी गर्छन्, न भकारीमा बटुल्छन्, तर तिमीहरूका स्वर्गका पिताले तिनीहरूलाई खुवाउनुहुन्छ। के तिमीहरू तिनीहरूभन्दा बढ़ी मूल्यवान् छैनौ र?
तिमीहरूमध्ये कुनचाहिँले फिक्री गरेर आफ्नो आयुमा एक घड़ी पनि थप्न सक्छ?
“अनि लुगाफाटाका निम्ति तिमीहरू किन फिक्री गर्दछौ? मैदानका लिली फूललाई हेर, ती कसरी बढ्दछन्। तिनले न परिश्रम गर्दछन्, न धागो कात्छन्।
तर म तिमीहरूलाई भन्दछु, सोलोमन राजा पनि आफ्ना सारा वैभवमा तिनीहरूमध्ये एउटा जति आभूषित थिएनन्।
आज हुने र भोलि अगेनोमा फालिने घाँसलाई परमेश्वरले यसरी पहिराउनुहुन्छ भने, ए अल्पविश्वासी हो, के तिमीहरूलाई झन् बढ़ी उहाँले पहिराउनुहुनेछैन र?
यसकारण ‘के खाऔंला?’ कि ‘के पिऔंला?’ कि ‘के पहिरौंला?’ भनेर फिक्री नगर।
किनकि अन्यजातिहरूले यी सब थोक खोज्दछन्, र तिमीहरूका स्वर्गमा हुनुहुने पिताले तिमीहरूलाई यी सबै थोकको खाँचो छ भनी जान्नुहुन्छ।
तर पहिले उहाँको राज्य र उहाँका धार्मिकताको खोजी गर, र यी सबै थोक तिमीहरूका निम्ति थपिनेछन्।
यसकारण भोलिको निम्ति फिक्री नगर, किनकि भोलिको दिनले आफ्नो फिक्री आफै गर्नेछ। आजको दु:ख आजको निम्ति पर्याप्त छ।”
“अरूलाई दोषी नठहराओ, र तिमीहरू पनि दोषी ठहराइनेछैनौ।
किनभने जसरी तिमीहरू अरूहरूलाई दोषी ठहराउँछौ, त्यसरी नै तिमीहरू पनि दोषी ठहराइनेछौ। जुन नापले तिमीहरू नाप्तछौ, त्यसै गरी तिमीहरूका निम्ति पनि नापिनेछ।
“किन तिमी आफ्नो भाइको आँखामा भएको धूलोको कण देख्तछौ, तर तिम्रो आफ्नै आँखामा भएको मूढ़ाचाहिँ थाहा पाउँदैनौ?
अथवा तिम्रो आफ्नै आँखामा मूढ़ा छ भने कसरी तिमी तिम्रो भाइलाई भन्न सक्छौ, ‘मलाई तिम्रो आँखाबाट धूलोको कण निकाल्न देऊ।’
ए ढोंगी, पहिले आफ्नै आँखाबाट मूढ़ा निकाल, तब तिम्रो भाइको आँखाबाट धूलोको कण निकाल्नलाई तिमी सफासँग देख्न सक्नेछौ।
“जे पवित्र छ सो कुकुरहरूलाई नदेओ। आफ्ना मोतीहरू सुँगुरका अगाडि नफाल, नत्रता तिनले आफ्ना खुट्टाले तिनलाई कुल्चलान् र फर्की तिमीलाई हमला गर्लान्।
“माग त तिमीहरूलाई दिइनेछ, खोज त तिमीहरूले भेट्टाउनेछौ, ढकढक्याओ त तिमीहरूका निम्ति उघारिनेछ।
किनकि जसले माग्छ, त्यसले पाउँछ, जसले खोज्छ, त्यसले भेट्टाउँछ, जसले ढकढक्याउँछ, त्यसको निम्ति ढोका उघारिनेछ।
“तिमीहरूमध्ये कुन मानिस होला, जसको छोराले रोटी माग्दा त्यसलाई ढुङ्गा देला?
कि माछा माग्दा त्यसलाई साँप देला?
यसकारण तिमीहरू दुष्ट भएर आफ्ना छोराछोरीहरूलाई असल चीज दिन जान्दछौ भने, स्वर्गमा हुनुहुने तिमीहरूका पिताले उहाँसित माग्नेहरूलाई कति बढ़ी गरेर असल चीज दिनुहुनेछ।
मानिसहरूले तिमीहरूसँग जस्तो व्यवहार गरून् भन्ने तिमीहरू चाहन्छौ, तिमीहरूले पनि तिनीहरूसँग त्यस्तै व्यवहार गर, किनभने यही नै व्यवस्था र अगमवक्ताका शिक्षाको सारांश हो।
“साँघुरो ढोकाबाट भित्र पस, किनभने विनाशमा पुर्याउने ढोका फराकिलो र बाटो सजिलो हुन्छ, र यसबाट भित्र पस्नेहरू धेरै हुन्छन्।
किनभने जीवनमा पुर्याउने ढोका साँघुरो हुन्छ र बाटो कठिन हुन्छ, जसले चाहिँ जीवनमा पुर्याउँछ, र त्यो भेट्टाउने थोरै नै हुन्छन्।
“झूटा अगमवक्ताहरूदेखि होशियार बस, जो तिमीहरूकहाँ भेड़ाको भेषमा आउँछन्, तर भित्रपट्टि चाहिँ डरलाग्दा ब्वाँसाहरूजस्ता हुन्छन्।
तिनीहरूका फलबाट तिमीहरूले तिनीहरूलाई चिन्नेछौ। के काँढ़ाका बोटबाट अंगूर अथवा सिउँड़ीबाट अञ्जीर टिपिन्छ र?
त्यसै गरी हरेक असल रूखले असल फल फलाउँछ। तर खराब रूखले खराब फल फलाउँछ।
असल रूखले खराब फल फलाउन सक्दैन, न त खराब रूखले असल फल फलाउन सक्तछ।
असल फल नफलाउने हरेक रूख काटी ढालिन्छ, र आगोमा फालिन्छ।
यसरी ती अगमवक्ताहरूलाई तिनीहरूका फलबाट चिन्नेछौ।
“मलाई ‘प्रभु, प्रभु’ भन्ने सबै स्वर्गको राज्यमा प्रवेश गर्नेछैनन्। स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पालन गर्ने मानिसले मात्र परमेश्वरको राज्यमा प्रवेश गर्नेछ।
त्यो दिन धेरैले मलाई भन्नेछन्, ‘प्रभु, प्रभु, के हामीले तपाईंको नाउँमा अगमवाणी बोलेनौं? तपाईंको नाउँमा भूतहरू धपाएनौं। र तपाईंको नाउँमा अनेक शक्तिशाली काम गरेनौं र?’
अनि म तिनीहरूलाई सफासँग भन्नेछु, ‘मैले तिमीहरूलाई कहिल्यै चिनेको छैनँ। ए अधर्म काम गर्नेहरू हो, मबाट दूर होओ।’
“यसकारण जसले मेरा यी वचन सुन्छ र पालन गर्छ, म एउटा बुद्धिमान् मानिससँग त्यसको तुलना गर्छु, जसले आफ्नो घर चट्टानमाथि बनायो।
अनि पानी पर्यो, र बाढ़ी आयो, अनि हुरी चल्यो र त्यस घरमाथि बजारियो, र पनि त्यो घर ढलेन। किनकि त्यो चट्टानमाथि बसालिएको थियो।
जसले मेरा यी वचन सुनेर पनि पालन गर्दैन, त्यसको तुलना एउटा मूर्ख मानिससँग गरिन्छ, जसले आफ्नो घर बालुवामाथि बनायो।
पानी पर्यो, र बाढ़ी आयो, अनि हुरी चल्यो र त्यस घरमाथि बजारियो, र त्यो घर ढल्यो, अनि त्यसको ठूलो विनाश भयो।”
RSS Feed
Twitter
1:31 PM
giri prakash
0 comments:
Post a Comment